देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छाङरु र तिंकरको जनगणना गरेर फर्किएको टोलीलाई  हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

देशान्तर

काठमाडौं-दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ ।

भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूणर् यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो ।

३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली ६ मंसिरमा छाङरु पुगेर जनगणना सुरू गरेको थियो । तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरी बिहीबार खलंगा फिर्ता भएको जनगणना गर्न गएका अधिकारीहरुले जानकारी दिएका छन् ।
जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर गएका थिए । दुम्लिङबाट एक जना स्थानीय बाटो देखाउने मान्छे लगेका थिए ।

खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिका २ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको पनि अधिकारीहरुले बताएका छन् । बाटो अधिकाशं क्षेत्रमा भत्किएको हुनाल बुट्यानका मुना समात्दै केही ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरी छाङरुसम्म पुगेका थिए ।
दुम्लिङभन्दा माथिल्लो क्षेत्रको मानवबस्ती छाङरुमा मात्र छ । दुई दिन राति भेडी गोठहरूमा समेत बस्नु परको टोलीका सदस्यहरुले देशान्तरलाई जानकारी दिएका छन् । ‘थी’ र ‘बुदी’मा भेडी खर्कमा पनि टोलीका सदस्यहरु बसेका थिए ।

‘जादाँ जोखिमपुणर् यात्रा गरी चार दिन हिँडेर गएका थिए । आउँदा विभागले हेलिकोप्टरको व्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम ल्याएको थियो ।

बाटो जोखिमपूणर् भएकाले गणना टोलीलाई फिर्ता गर्नका लागि विभागलाई हेलिकोप्टरको व्यवस्था गर्न जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अनुरोध गरेका थिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले जनगणना टोलीलाई सदरमुकाम फिर्ता ल्याएको कार्यालय प्रमुख पाण्डेले बताए ।

छाङरु र तिंकर गाउँमा रहेका ११३ घरपरिवार तथा त्यहाँस्थित एउटा सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकीमा जनगणना गरिएको थियो ।

उक्त क्षेत्रमा चिसो बढेपछि तिंकरका केही परिवार जनगणना टोली पुग्नुभन्दा पहिला नै खलंगा झरेका छन् । सदरमुकाम झरेकाहरूको गणक परिचालन गरेर सदरमुकाममै जनगणना गरिएको जनगणना कार्यालय दार्चुलाका खरिदार हरिस पन्तले बताए ।

भारतीय सुरक्षाकर्मीद्वारा निगरानी

जनगणना टोली नेपालको बाटो भएर गएको खबर भारतीय प्रशासन र सुरक्षा निकायलाई पनि थियो । नेपालमा हिँड्नै नसकिने बाटो भएकाले महाकाली नदीमा तुइनको प्रयोग गरि भारतीय बाटो भएर जनणना टोली जान सक्ने भन्दै भारतले सुरक्षा निगरानी बढाएको थियो । ब्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरूमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको बुझिएको कार्कीले बताए ।

छाङरु र भारतको गरब्याङ गाउँ जोड्ने सीतापुल नाकामा पनि सदाझैँ भन्दा जनगणनाको समयमा तेब्बर सुरक्षाकर्मी परिचालन गरेको पाइएको उनको भनाइ छ ।

छाङरु र तिंकरमा जनगणना गर्नका लागि भारतीय सडक भएर जान जिल्ला प्रशासन कार्यालयले गत २६ कात्तिकमा भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग अनुमति मागेको थियो । भारतीय प्रशासनले अनुमति नदिँदा जनगणना प्रभावित हुन सक्ने भन्दै जनगणना कार्यालयले स्वदेशबाटै जनगणना टोली पठाएको थियो ।

ब्यास गाउँपालिका १ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु मध्ये कुटी, नाभी र गुञ्जी भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला-लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो जोखिमपुणर् भएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरुले समेत भारतीय सडक प्रयोग गर्ने गरेका छन् । (न्यूजकारखानाबाट साभार गरिएको)