देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवालाई पलायन हुन नदिन जैविक कृषि र व्यवहारिक शिक्षा लागू गरिनुपर्ने : प्रदेश प्रमुख खापुङ

देशान्तर

खोटाङ । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उनले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताएका हुन् ।

फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङल बताए । विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु रुचिको विषय हुनसक्ने पनि हुने उनको भनाई थियो । शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टरसमेत सञ्चालनमा ल्याइएको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए ।

उक्त भवन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष गरेर मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको छ । व्यवहारिक शिक्षा लागू गरिएको शुभम फाउण्डेशन घुम्न आउने पर्यटकका लागि नजिकै रहेको पुरानो घरलाई मर्मत गरेर घरबास सञ्चालनमा ल्याइएको हो । घरबास र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवं कृषिविज्ञ मदन राईले बताए ।

शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माणका लागि प्रदेश सरकारको रु २० लाखका साथै फाउण्डेनको लगानी तथा श्रमदानगरी करिब रु ८० लाख खर्च भएको जनाइएको छ । फाउण्डेशनले विभिन्न जिल्लाका असहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ । कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन् ।