देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा आगलागीबाट दुई बालबालिकाको मृत्यु

देशान्तर

चितवन । राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरुको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरु सुरज रुम्बा र मनिषा तामाङ रहेका छन् । शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी भएको थियो ।

राप्ती–१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तानले बिजुली नपुगेको सो पहाडी गाउँमा सोलारबाट बत्ती बाल्ने गरेको बताए । केटाकेटीहरुले घरमा राखेको सोलारको ब्याट्री खेलाउँदा उक्त दुर्घटना भएको हुन सक्ने वडाध्यक्ष स्याङ्तानको भनाइ छ । घटनास्थल पुगेर फर्केका राप्ती–१ का वडा सदस्य मोचन तमाङले जितबहादुरको घरबाट उनका छोरा र छोरीको घरमा बत्ती बाल्न तार लगेको बताए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । जितबहादुरको घर पनि जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा रहेको कोदो, १० मुरी धान र फाइबरको ब्लाङ्केटहरु जलेर नोक्सान भएको वडा सदस्य मोचन तमाङले बताए ।