वीरगञ्ज – पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ । ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्लाभरी पूर्ण खोप लिन बाँकी रहेका १८ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल १०२ वटा खोप केन्द्र रहेको जिल्लामा अभियानका लागि १० खोप केन्द्रसमेत थप गरिएको हो । आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने कार्यालयले जनाएको छ ।
धेरैभन्दा धेरै नागरिकले खोप लगाउन भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको प्रजिअ ढकालले जानकारीदिनुभयो । वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ ।
पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरी तयारी गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । “कोरोना भाइरसविरुद्ध खोप लगाएपछि सङ्क्रमणको जोखिम कम हुने र सङ्क्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने दर कम छ ।”
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपकोसमेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ । त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ ।





प्रतिक्रिया