काठमाडौँ – वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ । सफाइमा अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, स्थानीयवासी, महानगरपालिका वातावरण विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, हलेसी डेकोर, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घका पदाधिकारी, कर्मचारी एवं सदस्यको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म दुई घण्टा ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ नदीका विभिन्न भागमा सफाइ गरिन्छ । महाअभियान शुरु भएदेखि जाडो, गर्मी, वर्षाद्, चाडपर्व, प्राकृतिक विपत्तिजस्ता प्रतिकुल परिस्थिति आइपरे पनि सफाइलाई निरन्तरता दिन अभियानकर्मी चुक्दैनन् ।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक स्थल, चक्रपथका उत्तरी र पश्चिमी भेग गरी २५ स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिर प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर १०९ स्थानभन्दा बढी सफाइ अभियान चलेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।





प्रतिक्रिया