देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मागअनुसार आपूर्ति हुन नसक्दा रासायनिक मलको अभाव

देशान्तर

काठमाण्डौ – माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो ।

मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ ।

निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणले पर्याप्त मल ल्याउन नसकेको जनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा ३ सयदेखि ३ सय ५० प्रतिशतसम्म मूल्य वृद्धि भएकाले थप मल ल्याउन प्रक्रिया अगाडि बढाउन समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले बताए। धान बालीका लागि जेनतेन जोहो गरेका किसानले गहुँ खेतीका लागि फेरि मल अभाव झेलिरहेका छन् ।

किसानले हरेक सिजनमा रासायनिक मलको अभाव झेल्नुपर्ने ‘नियति’ नै बनेको छ । बर्खामा रोपाइँका बेला होस् वा गहुँ छर्दा, समयमै कहिल्यै मल पाउँदैनन् । धेरै ठाउँका किसानले डीएपी मलविना नै गहुँ छरिरहेका छन् ।

मल विना नै हिउँदे बाली लगाउँदा राम्ररी उत्पादन नहुने भन्दै किसान चिन्तित भएका छन् । यस्तै चैते धानबालीका लागि अहिले नै मल ल्याउनका लागि बोलपत्र आह्वान गर्नुपर्ने भए पनि सरकारले त्यसो गर्न नसक्दा चैते धानका लागि झनै मलको अभाव हुन सक्ने उनले बताए ।