देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जिल्ला र उच्च अदालतमा पनि गोलाप्रथाः न्यायाधीश ईश्वर खतिवडाको विरोध

देशान्तर


काठमाडौं-न्यायपालिका सुधारका लागि थालिएको गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली अब उच्च र जिल्ला अदालतमासमेत कार्यन्वयन हुने भएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको फुलकोर्ट बैठकले माघ २ गतेदेखि जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रिया थाल्ने निणर्य गरेको हो ।

प्रधानन्यायाधीश हटाउने अभियानको नेतृत्व गरेर दीपक कार्कीसहितका वरिष्ठतम न्यायाधीशहरूले थालेको हड्तालपछि पहिलोपटक प्रधानन्यायाधीशको अध्यक्षतामा औपचारिक बैठक बसेर सो निणर्य भएको सर्वोच्च स्रोतले जनाएको छ ।

हड्ताली समूहका चारजना न्यायाधीशहरुले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने बताउँदै आएका थिए । सर्वोच्च अदालतमा यसअघि नै गोला प्रक्रिया सुरू भइसकेको छ । प्रधानन्यायाधीशबाहेक अन्य न्यायाधीशले गोला प्रक्रियाबाटै इजलास पाउने गरेका छन् ।

यसैबीच न्यायाधीश ईश्वर खतिवडाले गोला तानेर इजलास तोक्ने प्रक्रियाप्रति असहमति जनाएका छन् । बुधबारको फुलकोर्ट बैठकमा पनि उनले न्यायाधीशको विवेकमाथि प्रश्न उठाउनेगरि भएको गोलाप्रथाको विरोध गरेका हुन् ।

खतिवडाको भनाइ उदृत गर्दै एक न्यायाधीशले भने, ‘संसारमा कहिँ नभएको गोलाप्रथा हामी न्यायाधीशको विवेकमा विश्वास नगर्ने अपमाजनक प्रक्रिया हो । यसबाट न्यायपालिका सुधार हुँदैन । यो न्यायाधीशको अपमान हो ।’

खतिवडाले अहिलेसम्म गोला प्रक्रियामा भाग लिएका छैनन् । उनले गोला नतानेपछि कर्मचारीले तानेर इजलास तोकिने गरेको छ ।