
काठमाडौं-काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको लिखतसम्बन्धी कसूरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरु गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा विभिन्न लिखतहरु कीर्ते गरेको देखिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
उजुरी परेको मितिले २ वर्षभित्र अनुसन्धान सकेर अदातलमा मुद्दा दायर गर्नुपर्ने प्रावधानअनुसार सीआईबीले यही पुस २७ गतेभित्र सरकारी वकिलसमक्ष रायसहितको प्रतिवेदन पठाइसक्नु पर्ने भएको हुनाले अनुसन्धानलाई अन्तिम रुप दिँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पठाउने तयारी गरिएको सीआईबीका निर्देशक, प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले देशान्तरलाई बताए ।
डीआईजी सिंहका अनुसार चार पटकमा गरेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर बेचबिखन गरेको पाइएको छ। सीआईबीले चारजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा टोली बनाएर अनुसन्धान सुरु गरेको थियो।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वर्ष अगाडि (२०७६ माघमा) १७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ। सीआईबी स्रोतका अनुसार लिखतसम्बन्धी कसूरमा अख्तियारको भन्दा धेरैलाई प्रतिवादी बनाएर रायसहितको प्रतिवेदन सरकारी वकिल समक्ष पेस गर्ने तयारी छ।





प्रतिक्रिया