
काठमाडौं-ललितपुर जिल्लाका विभिन्न स्थानमा रहेका मन्दिरलगायतका सार्वजनिक स्थान, पाटी-पौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मूर्ति चोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-२ तल्लोकोट घर भइ हाल काठमाडौंको टोखा नगरपालिका-१० सामाखुसी बस्ने २३ वर्षीय नेशनल योञ्जन र ललितपुरको ललितपुर महानगरपालिका-२० नःटोल बस्ने ४५ वर्षीय सानुलाल महर्जन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार योञ्जनले पुस १५ गते ललितपुरको गोदावरी नगरपालिका-३ टौखेलमा रहेको पञ्चायिन मन्दिरबाट ढुंगामा कुदिएको बुद्धको मूर्ति चोरेका थिए ।
मूर्ति चोरीको घटनाको अनुसन्धानको क्रममा प्रहरीले पुस १७ गते मूर्तिसहित योञ्जनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । योञ्जनले चोरी गरेको मूर्ति खरिद गर्ने क्रममा महर्जनलाई पक्राउ गरिएको पाइएको छ ।
पक्राउ परेका महर्जनको साथबाट ललितपुर महानगरपालिका-११ कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर अगाडि रहेको मिसाहिटीको ढुंगेधारा माथि रहेको नारायणको मुर्ति १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।





प्रतिक्रिया