देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शनिवारसम्म फेरी वर्षा र हिमपातको सम्भावना

देशान्तर

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभाव आगामी शनिवारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहीवार देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना छ । आइतवारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जानकारी दिएको छ ।

बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव आठ डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस छ । बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २३ दशमलव पाँच डिग्री सेल्सियस छ ।