काठमाडौं – खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ।
विभागले आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो।
विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत्खननका लागि अनुमति प्रदान गरिएको छ। तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए।
यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको उनले बताए।
मकवानपुरस्थित दामनको काउलिङ र बाग्लुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौंलाई अनुमति प्रदान गरिएको हो।
कुल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानका लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।





प्रतिक्रिया