सर्लाही – उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दंग छन्। माघे संक्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दंग भएका हुन्।
माघे संक्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ। माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको वाग्मती र बरहथना नगरपालिका क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ। ती क्षेत्रका खेतभरी तरुल खनिरहेको दृष्य बग्रेल्ती देखिन्छ।
विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान दंग छन्। गतवर्ष प्रतिकिलो ३५ देखि ४० रूपैयाँमा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो रु ५० देखि ८० मा बिक्री भइरहेको छ। लामो समयदेखि व्यावसायिक रुपमा तरुल खेती गर्दै आएका वाग्मती नगरपालिका–५ राजघाटका किसान यमकुमार मगरले भने, ‘यसवर्ष निकै राम्रो मूल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन्। यसरी मूल्य पाउने हो भने किसानलाई लागत र परिश्रमअनुसार राम्रो फाइदा हुनेछ।’
उनका अनुसार माघे संक्रान्ति नजिकिएसँगै किसानले उत्पादन गरेको तरुल लिन ठेकेदार खेतबारीमै पुगेका छन्। यसवर्ष १० कठ्ठा जमिनमा तरुलखेती गरेको र तरुलले राम्रो मूल्य पाएपछि आफूलाई खुसी लागेको वाग्मती नगरपालिका–८ शङ्करपुरका किसान जगबहादुर महतोको भनाइ छ।
उनले प्रतिकठ्ठा २५ हजार रूपैयाँमा खेतबाटै व्यापारीले तरुल लैजाने गरेको बताए। सबै खर्च कटाएर तरुलखेतीबाट प्रतिकठ्ठा १८ देखि २० हजार रूपैयाँ आम्दानी हुने गरेको किसानको भनाइ छ। माघे संक्रान्तिमा विशेष फलहारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमासमेत प्रयोग गर्न लैजाने गरेको किसानले बताए।





प्रतिक्रिया