देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिकांश स्थानमा बदली र वर्षा, यस्तो छ तीन दिनको मौसमी अवस्था

देशान्तर

काठमाडौं । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ ।

कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ ।

मौसमविद मञ्जु वासीका अनुसार कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको वर्षा भएको छ । यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार आउँनेछ । उनले काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने पनि बताइन् ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको मौसमविद वासीले बताइन् ।

गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ ।

राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ । मौसमविद मञ्जु वासीका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन तर आकाश खुलेकाले अत्यधिक चिसो बढ्ने छ ।

तीन दिनको मौसमी अवस्था
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ ।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

यसैगरी माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ १ गते राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।