देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

देशान्तर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।

साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो ।

माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । “चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ”, उनले भने

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको उनले बताए । “चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ”, उनले भने ।

दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो । “घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ”, अध्यक्ष थापाले भने

बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । “चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो”, उनले भने

प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ ।