सर्लाही – सर्लाहीको बरहथवामा पुस २३ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर ईलाका प्रहरी कार्यालय बरहथवाले घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।
गत १७ पुसबाट वेपत्ता भएकी बरहथवा नगरपालिका-१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्रीकुमारी महराको घरबाट केही टाढा उखुबारीमा शव फेला परेको थियो । मृतक महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा निवस्त्र फेला परेको हो ।
घटनामा सर्लाहीको हरिवन नगरपालिका-१०, ताइवान टोल बस्ने २७ वर्षका सन्तोष साह, सोही स्थान बस्ने २७ वर्षकै मुकेश ब्लोन र २२ बर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ । घटनाको सुक्ष्म अनुसन्धानको क्रममा उनीहरुको घटनामा संलग्नता पाइएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी उमा शंकर यादवले जानकारी दिए । अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता सम्बन्ध रहेको खुलेको छ ।
सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई भगाउन बारम्बार दबाब दिँदै आएकी थिइन् । विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीलाई केही पैसा दिने लोभ समेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो । प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाइकल तथा घटनास्थलबाट बरामद भएको सामाग्रीसमेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको छ ।
मृतक महिलाका श्रीमान विगत ८-१० वर्षदेखि कामको सिलसिलामा कतारमा रहेका थिए । उनी २ वर्ष पहिला मात्र नेपाल आएर गएका थिए । उनीहरुको दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । मृतक महिलाको १२, ८ र ५ बर्षको सन्तान रहेको पारिवारिक श्रोतले जनाएको छ ।





प्रतिक्रिया