सर्लाही – सर्लाहीमा केही दिनदेखि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ । आइतबारदेखि जिल्लामा घाम समेत लागेको छैन।
सर्वसाधारणले सोमबारयता यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन्। सर्लाहीमा आइतबार सोमबार दिनभर घाम लागेन।
मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शीतलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेको छ। यो क्षेत्रमा आइतबारदेखि चिसो अत्यधिक बढ्न थालेको हो।
आइतबार दिउँसोपख केही समय घाम लागे पनि सोमबार दिनभर बाक्लो हुस्सु लागेरै दिन बित्यो। कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्ति र न्यानो कपडा नभएका बनिबुतो गरेर खाने अतिविपन्न परिवारलाई धेरै गाह्रो पारेको छ।
चिसो छल्न धेरैले अहिले घर तथा चौक बजारमा आगो तापेर बसिरहेका छन्। चिसो स्याँठले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई समस्या भएको छ।
यही चिसोमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता स्वास्थ्य समस्या भएका विरामी बढेका छन्।
चिकित्सकहरूले चिसोबाट जोगिन शरीर न्यानो हुने गरी ताता कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक स्याँठ चलेका वेला बाहिर ननिस्कन, निस्कँदा पनि शरीरमा हावा पस्न नपाउने गरी कपडा लगाउन, आगो ताप्न, आगो ताप्दा पनि शरीरमा सल्किएर अर्को दुर्घटना हुने भएकाले ख्याल गर्न, झोलिला र ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन्।
त्यस्तै अत्यधिक रूपमा बढेको चिसोबाट पशुपालक किसानलाई वस्तुभाउ जोगाउन पनि मुस्किल परेको छ।





प्रतिक्रिया