देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी अस्पताल विराटनगरका ४६ कर्मचारीलाई कोरोना संक्रमण

देशान्तर

काठमाडौ – कोशी अस्पताल, विराटनगरका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२५ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मंगलबारसम्म अस्पतालमा कार्यरत ४६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

डाक्टर दासका अनुसार ८ डाक्टर, १७ जना नर्स, परामेडिक्स, एक्स–रे, ल्याबका प्राविधिक, सफाइ कर्मचारीलगायत गरी ४६ जनालाई संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।

धेरै कर्मचारीलाई संक्रमण देखिएपछि अस्पतालको सेवा प्रवाहमा असर गरेको उनले बताए । ‘स्वास्थ्यकर्मी संक्रमित भएपछि सिफ्ट म्यानेजमेन्ट गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘सबै विभाग खुला छन्, तर काम गर्न जनशक्तीलाई संक्रमण देखिदा गाह्रो भइरहेको छ ।’

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा केही दिनका लागि बन्द भएको छ ।

प्रदेश(१ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दैनिक भेटघाटका कामहरु बन्द गरेको छ । मन्त्रालयका सचिवसहित केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भेटघाट बन्द गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिए ।

संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारबाट आलोपालोको नियम लागू गरेको छ ।

सोमबार बसेको बैठकले आइतबार र बुधबार सुन्दरहरैचा नगरपालिका, बुढीगंगा र जहदा गाउँपालिकाका लागि समय निर्धारण गरेको छ । सोमबार र बिहीबार विराटनगर, कटहरी, धनपालथान गाउँपालका लागि समय निर्धारण गरेको छ । मंगलबार र शुक्रबार बेलबारी, ग्रामथान र केराबारीका लागि समय निर्धारण गरेको छ ।