देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्लाहीमा यात्रुबाहक बस पल्टिँदा १६ जना घाइते

देशान्तर


काठमाडौं-सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ नोचास्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा १६ जना घाइते भएकोमा एकजनाको थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

बस दुर्घटनामा महोत्तरीको बर्दिबास-२ बुद्धचोककी ३६ वर्षीया विमला सेन्चुरीको टाउको र शरीरमा चोट लागेको र थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरी भन्टाबारी नगरपालिका-९ का ४० वर्षीय अरुण महतो, सर्लाहीको लालबन्दी-९ की ३७ वर्षीया सुधा खड्का, उनका छोरा ४ वर्षीय कृष खड्का, हरिपुर-२ चिताइनका ६५ वर्षीय रामपुजन कुमर र उनकी श्रीमती ६५ वर्षीया रमनी कुमर, रौतहटको चन्द्रपुर-८ की २५ वर्षीया निल कुमारी राम, लालबन्दी-११ की ६० वर्षीया सिलादेवी ठाकुर घाइते भएका छन्।

त्यस्तै रौतहट राजपुर-२ का ४० वर्षीय राजदेव भगत, उनका छोरा ११ वर्षीय रन्जन कुमार चौरसिया, महोत्तरीको बर्दिबास-११ की १९ वर्षीया पुष्पा गौतम, सर्लाहीको बाग्मती-१० की १३ वर्षीया अस्मिता आचार्य, हरिपुर-५ की ४८ वर्षीया ठगनीदेवी चौधरी, वडा नंं. ८ की ७० वर्षीया असिया देवी चौधरी, रौतहटको गुजरा-३ का २४ वर्षीय सयफुरलाई देवान र लालबन्दी-९ का ३७ वर्षीय सुदिप खड्का घाइते भएका छन्।

घाइतेमध्ये ९ जनाको अवस्था मध्यम र ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइतेहरुको उपचार नमुना अस्पताल हरिवनमा भइरहेको प्रहरीले जनाएका छन्।