काठमाडौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ ।.
बिहीवार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरु गरेको हो । महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरु समेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले कोरोना महामारी बढीरहेकोले आम नागरिकहरुलाई सचेत गराउनका लागि यो अभियान शुरु गरेको बताए । उनले सवारीसााधनमा टाँसेको पर्चा र पम्प्लेटले पनि नागरिकहरुलाई मास्क लगाउनु पर्छ भन्ने ज्ञान हुने बताए ।
प्रहरी वरिष्ठ उपरिक्षक जोशीले भने, ‘यो स्यानिटाइज गर्ने काम हो । अहिले कोरोनाको बिगबिगी बढीरहेको छ । मान्छेलाई थाहा हुन्छ तर त्यो कुरा भनिएन भने मान्छे सजग हुँदैन । मास्कको महत्व थाहा हुन्छ । सचेतना बढाउने प्रयत्न हो यो ।’
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसहरुलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान शुरु गरेको बताए । उनले ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउनका लागि सचेत गराइएको बताऐ । उनले यो अभियान देशभर नै सञ्चालन हुने पनि बताए ।
महासचिव सिटौलाले भने, ‘हिजोको दिनको अवस्थालाई बुझेर ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कर्मचारी, मजदुर संघहरुले यो अभियान ल्याएका हौँ । मास्क नलगाइ हिँडेकोले मास्क अनिवार्य लगाउँ भनेर सचेतना अभियान सञ्चालन गरेका हौँ । काठमाडौंबाट दिइएको सन्देश देशभर नै जाओस् । मास्क हाम्रो लागि हो, सबैले लगाइदिनुहोला ।’
महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताए ।





प्रतिक्रिया