देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पश्चिमी वायुको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा सामान्य वर्षा

देशान्तर

काठमाडौ – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताए।

काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्य बर्षा र हिमपात भैरहेको भएपनि ठूलो पानी तथा हिउँ पर्ने सम्भावना भने नरहेको मौसमविद् कँडेलले बताए । यस्तै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु / कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण चिसो बढेकोले तराईको जनजीवन प्रभावित भएको छ ।

मौसम बदली भएकोले काठमाण्डौ उपत्यकासहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । भोलि पनि देशभर बदली रही केही ठाउँमा सामान्य वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यसैबीच प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ । बाक्लो तुवालो र कुइरो लागेकाले कतिपय विमानस्थलमा उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ । पूर्वी तराई भेगका विमानस्थलहरुमा उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।