काठमाडौँ – सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्नेभन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताए । उनले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए । सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गरे । उनले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाएपनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताएका छन् । सह प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए ।
सह प्रवक्ता अधिकारीले भने, ‘पछिल्लो ओमिक्रोनको संक्रमणलाई हेर्दा यो धेरै संक्रामक रहेको छ । यसले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन । सबै वर्गहरु संक्रमित भइरहेको देखिन्छ । तीव्र संक्रामक भएको हुनाले एकजनामा संक्रमण पुष्टि भयो भने हामी बसेको ठाउँ परिवारमा अरु व्यक्तिहरु पनि संक्रमित भएको देखिरहेका छाँै । एक ठाउँमा संक्रमण हुँदा त्यहाँ वरिपरि रहेकाहरुमा संक्रमण फैलिरहेको छ । तर जोखिमको हिसावले पहिलेको भेरियन्टहरु भन्दा कम जोखिमपूर्ण छ । स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण छ । यो हुनुको पछि कोभिड खोप लगाउनेको संख्या बढेको कारण र अर्को बढी प्रभाव पार्ने अंग अरु भेरियन्टले फोक्सोको तलको भागमा बढी प्रभाव पार्दथ्यो भने यसले घाँटीसम्म गएर प्रभाव पार्छ । त्यसैले जोखिमका हिसावले तुलनात्मक रुपमा कम हो । तर भ्याक्सिन नलगाएको मानिसहरुमा बढी जोखिम भइरहेको अस्पतालमा भर्ना दरहरु हेर्दा तलैसम्म जोखिम पु¥याएको हामीले देखेका छौँ ।
संक्रमणको गति तीव्र छ । हामीले लिने सामान्य सावधानीहरुले त्यसलाई कम गर्न सकिन्छ । कोभिड १९ बिरुद्धको खोप लगाउन सकेको आधारमा जोखिम कम हुन्छ । अहिले हामी संक्रमणको उच्च अवस्थाबाट गइरहेका छौँ । यो केही समय रहन्छ र बिस्तारै कम हुँदै जान्छ । हामी बच्न र अरुलाई बचाउन उपलब्ध भएको कुराहरु जनस्वास्थ्यका मापदण्ड, कोभिड १९ बिरुद्धको खोप नै हो । समग्र स्वास्थ्य सेवाहरुमा धेरै व्यक्तिहरु संक्रमित हुँदै जाँदा यसले धेरै चुनौति थप्छ ।
सह प्रवक्ता अधिकारीले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिए । उनले कोरोना भएको ७ दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारे । सह प्रवक्ता अधिकारीका अनुसार ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने बताए ।
सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा पृथकवास बस्नुपर्छ । अरुसँग भेटघाट गर्नहुँदैन । भेटघाट भएका मानिसलाई सुचित गराउन आवश्यक हुन्छ जसले संक्रमण रोक्न सहज हुन्छ । संक्रमण पुष्टि भएर आइसोलेशनमा बसेको छ भने ७ दिनपछि संक्रमण सर्दैन भन्ने कुरा पुष्टि भएकोले सात दिनपछि परीक्षण गर्नुको कुनै औचित्य छैन । सर्पको काँचुली देखिएजस्तै भाइरसको केही अंश परीक्षण गरेपनि देखिनसक्छ । तर त्यसले संक्रमण सार्ने अवस्था हुँदैन । त्यो सक्रिया भाइरस हुँदैन । तर त्यहाँ हामीले जनस्वास्थ्यका मापदण्ड पलना गरेर कार्यालय जान्छु भन्ने सोच्छौँ तर कोभिडका लक्षणहरु छन् भने सक्रिय छ कोरोना भनेर आइसोलेशनलाई निरन्तरता दिनुपर्छ । सक्रिय भाइरस रहेसम्म लक्षणहरु देखिन्छन् । त्यस्तोमा लक्षण हराएको थप तीन दिनसम्म आइसोलेशनमा बस्नुपर्छ । कसैलाई १० दिनमा पनि लक्षण छ भने १० औँ दिनसम्म पनि संक्रमण गराउन सक्ने भाइरस छ भन्ने बुझ्नुपर्ने हुन्छ । उहाँले १३ दिनसम्म आइसोलेशनको अवधि पूरा गर्नुपर्छ, १० दिनमा लक्षण कम भयो भने । त्यस्तोमा परीक्षण गराइराख्नुको कुनै आवश्यक्ता छैन । त्यसले कुनै अर्थ दिँदैन, श्रोत साधनको दुरुपयोग मात्रै हो ।’
सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिए । उनले कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताए ।





प्रतिक्रिया