
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान गरी दसौं महाधिवेशन तथा निर्वाचन गराउन प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले काम थालेको छ । गत अगस्टमा नै हुनुपर्ने संघको दसौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधिको विवादका कारण हुन नसकेपछि गत साता बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठकले संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
घले नेतृत्वको समितिमा सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भुवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन् । समितिलाई आगामी २८ फेब्रुअरीमा नयाँ आईसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावलीमा देखिएको विवाद सुल्झाउन जिम्मेवारी दिइएको छ । अध्यक्ष कुमार पन्तले पटकपटक प्रयास गरे पनि विवाद सुल्झाउन नसकेपछि विवाद सुल्झाएर निर्वाचन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिले संघको विवादलाई सूक्ष्मरूपमा केलाउन थालेको छ ।
बिहीबार र शुक्रबार गरी दुई पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । आइतबार वा सोमबार पुनः बैठक बस्ने जनाइएको छ । दुईवटा बैठकमा विवाद पहिचान गर्ने काम भएको समितिका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार मुख्य विवाद रहेका एनसीसीहरूको पहिचान भएको छ भने ती देशबाट आईसीसी सचिवालयमा पठाइएको महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा पनि एकसरो छलफल भएको छ ।
विशेषगरी अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानमा मुख्य विवाद रहेको छ । त्यसैगरी अस्ट्रिया, फ्रान्स, पोर्चुगल, जर्मनी, रुसलगायतका देशमा पनि महाधिवेशन प्रतिनिधिमा विवाद छ । पहिलो एक हप्तामा ‘विवादको स्तर’ पहिचान गर्ने काम भएको ती सदस्यले बताएका छन् । विवादलाई वर्गीकरण गर्ने काम भएको र सोहीअनुसार समाधान खोज्ने तयारी गरिएको पनि संघका एक पूर्वअध्यक्षले जानकारी दिएका छन् । उच्चस्तरीय समितिका संयोजक घलेले चरणबद्ध रूपमा सबै विवादको समाधान गर्ने र महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गर्ने बताएका छन् ।
उच्चस्तरीय समितिले काम थालेपछि गैरआवासीय नेपालीहरूमा विवाद समाधान हुने आशा बढेको छ । संघको सचिवालय, आईसीसी हुँदै परराष्ट्र मन्त्रालयसम्म पुगेको विवाद अब उच्चस्तरीय समितिले समाधान गर्ने र समाधानमा विधानको व्यवस्था र विगतको अभ्यासलाई मानक बनाइने भएपछि संघका केही पदाधिकारीको व्यक्तिगत इच्छाका कारण उत्पन्न विवाद किनारा लाग्ने गैरआवासीय नेपालीहरूको अपेक्षा रहेको छ ।
एनआरएनए सचिवालय स्रोतका अनुसार गत जुलाईमा अधिवेशन र निर्वाचन भएका सबै एनसीसीहरूको विवरण सचिवालयले उच्चस्तरीय समितिलाई बुझाइसकेको छ । त्यस्तै, एनसीसी अधिवेशनमा भएको धाँधली र अनियमितताविरुद्ध परेका दाबी तथा उजुरी पनि उच्चस्तरीय समितिलाई बुझाइएको छ । परराष्ट्र मन्त्रालयमा दिइएको उजुरीको प्रतिलिपि पनि उच्चस्तरीय समितिले लिएको छ । सबै कागजातको सूक्ष्मरूपमा अध्ययन गरी विवाद समाधानका लागि पहल भइरहेको एक सदस्यले जानकारी दिए ।
उच्चस्तरीय समितिलाई जनवरी २६ सम्मको समय दिइएको भए पनि यो समय अपुग हुने जनाइएको छ । उच्चस्तरीय समितिले थप केही दिन समय लिएर विवाद समाधान गरी महाधिवेशन प्रतिनिधिहरूको सूची तयार पार्ने छ ।





प्रतिक्रिया