मोरङ — नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क लिएपछि त्यसको विरोधमा उत्रिएका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भएको छ । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएपछि विभिन्न राजनीतिक संगठनसहित विद्यार्थीहरूले आन्दोलन गर्दैआएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा ९एकीकृत समाजवादी०का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङको सहयोगमा पीडित विद्यार्थीहरूले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै सोमबार सिटी जुलुस प्रदर्शन गरेका थिए ।
जुलुस प्रदर्शन गर्ने क्रममा आन्दोलनरत विद्यार्थीहरूले तालाबन्दी गरेको कलेज प्रशासनमा कर्मचारीहरूले काम गरिरहेको र भारतीय विद्यार्थी, छात्रवृत्ति र अतिरिक्त शुल्क तिरेका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गरिरहेको देखेपछि विरोव जनाउँदा झडप भएको हो ।
आन्दोलनरत विद्यार्थीहरूले कलेज प्रशासनमा लगाइएको तालाबन्दीको अवस्था हेर्न जाने क्रममा कलेजका सुरक्षा गार्डले भाटा हिर्काएपछि १० जना विद्यार्थी नेताहरू घाइते भएका छन् । समाजवादी विद्यार्थी यूनियनका साहिल झा, अखिल क्रान्तिकारीका टेकेन क्षेत्री, उमेश सेन्चुरीलगायतका विद्यार्थी नेताहरू घाइते भएको अनेरास्ववियुका नवीन पहाडीले बताए ।





प्रतिक्रिया