देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिक हस्तक्षेपका कारण नेपाल रेडक्रस नै निलम्वन हुन सक्नेः महासचिवका विशेषदूत नेपालमा

देशान्तर


काठमाडौं-नेपाल रेडक्रस सोसाइटीमा चर्केको विवादका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवका विशेषदूत नेपाल भ्रमणमा आएका छन् । नेपाल रेडक्रसमा समस्या बढ्दै गएपछि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले चासो देखाइ प्रतिनिधि पठाएको हो ।

आईएफआरसीका महासचिव जगन चापागाईका विशेषदूतका रूपमा गत बिहीवार नेपाल आएका वाल्टर कोट्टेले शुक्रबारदेखि नै छलफल गरिरहेका छन् । उनले नेपाल रेडक्रसका साथै परराष्ट्र तथा गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी स्थितिको जानकारी लिएका थिए ।

पटक पटक बनाइएका तदर्थ समितिसहित नेपाल रेडक्रममा भएको समस्याबारे प्रश्न उठेपछि महासचिवले विशेष प्रतिनिधि पठाएर वास्तविकता बुझ्न खोजेका हुन् ।
निर्वाचित कार्यसमितिमाथि भ्रष्टाचारको आरोप लगाएर नेपाल सरकारले भंग गरी तदर्थ समिति बनाएको थियो । तदर्थ समितिले पनि बेलैमा रेडक्रसको महाधिवेशन गर्न नसकेपछि सरकारले पटक पटक समिति भंग गर्दै अर्को समिति बनाउने काम गर्दा नेपाल रेडक्रस विवादको भुमरीमा परेको हो ।
रेडक्रसका एक कर्मचारीका अनुसार अनुसार नेपाल सरकारले हस्तक्षेप नगर्ने र विधानसम्मत अधिवेशन गरेर नेपाल रेडक्रसको केन्द्रीय समिति गठन हुने विश्वास नलागेमा महासंघले नेपाललाई दिने सहायता रोक्न सक्छ । त्यसपछि पनि सरकारी हस्तक्षेप नरोकिएमा नेपालको रेडक्रस नै निलम्वित हुन सक्छ । नेपाल रेडक्रसको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गर्दै उनले भने,“नेपाल रेडक्रस निलम्वित हुने अवस्था दुर्भाग्यपूणर् हुनेछ । यसबाट देशकै अन्तर्राष्ट्रिय जगतमा साख गिर्नेछ ।”