देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोरङको उखुबारीमा भेटिएका दुवै शवको पहिचान खुल्यो

देशान्तर

मोरङ – मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा उत्खनन गरेर निकालिएका दुवै शवको पहिचान खुलेको छ । यही माघ १३ गते उत्खनन गरिएको शव सप्तरीका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका-४ का स्थानीय भएको र काठमाडौंको क्षेत्रपाटीमा बस्दै आएको खुलेको छ । उनी एक महिनाअघि घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

माघ १४ गते उखुबारीमै अर्को खाल्डोबाट पनि शव निकालिएको थियो । उक्त शव सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको रहेको यसअघि नै पहिचान भइसकेको छ । उनीहरू दुवै जना चिनजानकै रहेको र जग्गा कारोबार गर्दै आएको अनौपचारिक सूचना प्रहरीले प्राप्त गरेको छ । उनीहरू दुवैको ‘कनेक्सन’ पनि प्रहरीले खोजिरहेको छ ।

उखुबारीमा चौधरीको शव निकालिएको स्थानकै नजिक राजेन्द्रकुमार श्रेष्ठको शव फेलापरेको थियो । प्रहरी अधिकारीहरूका अनुसार उनीहरूको हत्या घटनास्थलमै भयो वा अन्यत्र भन्ने खुलेको छैन ।

उनीहरूलाई गाडिएको खाल्डोमा शव गलाउन नुनको समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठको एक महिनाअघिदेखि मोबाइल अफ थियो । तर, उनी मोरङकै एक होटेलमा बसेको खुलेको छ । शवको पहिचान भएसँगै अनुसन्धानले गति लिने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी अधिकारीहरूका अनुसार हत्यापछि शव गाडिएको प्रकृति हेर्दा योजनाबद्ध तरिकाले घटना गराइएको देखिन्छ ।