काठमाडौँ — महानगरीय अपराध महाशाखा मिनभवनले राजश्व छलेर ल्याइएका २ सय ९६ कार्टुन मदिरासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा साविक गादी गाविस–८ घरभई कपन बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्सा साविक सुवर्णपुर गाविस–५ घरभई हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रिन र सर्लाही बरहथवा नगरपालिका–९ घरभई चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे छन् ।
प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगललगायतका मदिराहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइ कारोबार गर्ने गरेको सूचनाको आधारमा शुक्रबार उपत्यकाको रामकोट, बानेश्वर, कपनलगायतबाट उनीहरुलाई पक्राउ गरेको हो ।
महाशाखा प्रमुख वसन्त कुँवरका अनुसार पक्राउ परेका चारै जनालाई आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको र बरामद मदिराको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।
बख्रेलले बजारमा बिक्री वितरण गर्न ईन्फिनिटि लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको र नारायणप्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रिको भनेर ग्राहकलाई बिक्री गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । राजश्व छलिका मदिरा पार्टी प्यालेसहरुमा बिक्री वितरण हुने गरेको थियो ।
प्रहरीले बजार मूल्य १ करोड ५० लाख रुपैयाँको मदिरा बरामद गरेको दाबी गरेको छ । अवैध मदिराका मुख्य योजनाकार बख्रेल ‘बिइङ ह्युमन’का सञ्चालक एवं लागूऔषध कारोबारका फरार अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया