
काठमाडौं-बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाअगाडि प्रदर्शन भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिए पनि कारबाही नभएको भन्दै प्रदर्शन गरेकी हुन् ।
सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् । हाल उनको दुई वर्षको छोरा छन् ।
सिंहले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर प्रदर्शन गरेकी थिइन् । उनलाई केही अधिकारकर्मीले साथ दिएका थिए ।
आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाव दिएको उनले बताएकी छन् । तीन वर्षअघि जनकपुरधाममा पढ्न बसेकी निहारिका र श्रेष्ठबीच प्रेम थियो । त्यस क्रममा शारीरिक सम्बन्धबाट निहारिका गर्भवती भएकी थिइन् ।
निहारिकाका अनुसार श्रेष्ठले गर्भ फाल्न दबाव दिएका थिए । उनले गर्भ नफाल्ने अडान लिएपछि श्रेष्ठ वेपत्ता भएका थिए । झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछि सफाइ दिएको थियो ।





प्रतिक्रिया