देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिहीवारदेखि दल दर्ताको तयारी

देशान्तर

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीवारदेखि दल दर्ता गर्ने तयारी गरेको छ । बिहीवार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको छ ।

आयोगमा अहिले एक सय तीन दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नामावली अद्यावधिक गर्न अझै एक महिना लाग्न सक्ने उहाँले बताउनुभयो । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झण्डै एक करोड ८० लाख मतदाता हुने आयोगले जनाएको छ । २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ ।

चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झण्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता पौडेलले बताए । यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मानिँदै आएको थियो ।

मतदान गर्न १८ वर्ष पुग्नुपर्ने व्यवस्था भए पनि आयोगले १६ वर्ष पुगेर नागरिकता बनाएका सबैको नामावली सङ्कलन गर्दै आएको छ । आयोगका अनुसार २०७४ सालको चुनावमा एक करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता थिए । पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ ।