विराटनगर – एक साताअघि सुनसरीको धरानमा भेटिएको शवको झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देल रहेको खुलेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार सिग्देल वैदेशिक रोजगारीका लागि बहराइन पुगेर फर्किएका थिए। परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको पाइएको प्रहरीले बताएको छ।
उनको हत्यामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि सार्वजनिक गरेको छैन। दिनेशको हत्या भएको मिति खुलेको छैन। हत्यापछि दिनेशको शरीरलाई टुक्राटुक्रा बनाएर जेब्रा झोलाभित्र धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा स्थानीयले भेटेका थिए।
घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको थियो। बिहीबार करिब १ किलोमिटरमाथि जिउ र अन्य अंगहरु प्याक गरिएको अर्को झोला भेटिएको थियो।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ तथा संघीय प्रहरी इकाई कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया