देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला लाग्दै

देशान्तर

काठमाडौँ-पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६ र २०७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ मेला सञ्चालन गरिने उनले बताए ।

महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन सङ्घलाई रु १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ ।

मेलामा बालबालिका एवं वयस्कका लागि पिङलगायतका खेलहरुका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने जनाइएको छ । –रासस