देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा अख्तियारले थाल्यो छानबिन

देशान्तर


खोटाङ – खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियारले फिल्डमै पुगेर छानबिन थालेको छ ।

ज्यान गुमाइसकेका, बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा फर्जी कागजात बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फिल्डमै उपस्थित भएर छानबिन थालेको हो । अख्तियारको टोलीले साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो ।

आर्थिक वर्ष २०७६र०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको गाउँपालिका आफैले कारबाहीका लागि १२ पुस २०७७ मा त्यससँग सम्बन्धित कागजातको फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीलाई पठाएको थियो । गाउँपालिकाले पठाएको प्रतिवेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताए ।

सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेला परेको छ । छानबिनका क्रममा कतिपय मृतक वा बसाई सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भए लगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ ।