झापा– दमक नगरपालिकामा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ। फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए।
उनका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ। कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
नगरको फोहोर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ। यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्यांकीमा हालेर १५ दिनसम्म कुहिन्छ। यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ।
उनका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र आठ दशमलब पाँच मिटर उचाइ भएको विशाल पक्की ट्यांकी निर्माण भइरहेको छ। यहाँबाट दैनिक एक हजार ८४ किलोग्राम बायोग्याँस उत्पादन गर्न सकिन्छ। यस्तै‚ दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहोर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए।





प्रतिक्रिया