काठमाडौं – गृह मन्त्रालयले जागिरको प्रलोभनबाट बच्न सबै सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गरी पछिल्लो समय काम लगाइदिने भन्दै ठगी गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो।
काठमाडौं उपत्यकाका चोक चोकमा जागिरको अवसर भन्दै विभिन्न पर्चा वितरण र टाँस्ने गरिन्छ। यसबाट कोही ठगिएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।
प्रहरीले फागुन २२ गते ‘जब सेन्टर’को नाममा ठगी गरेको आरोपमा नौजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे, लमजुङका २२ वर्षका आनन्द मरहठ्ठा रहेका छन्। उनीहरू दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर नामक संस्थाका सञ्चालक हुन।
उनीहरूले उपत्यकाभित्र विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, पर्चा पम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचारप्रसार गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।






प्रतिक्रिया