देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तराईमा शुक्रबार रङको पर्व होली हर्षोल्लासका साथ मनाइँदै

देशान्तर

विराटनगर – रङको पर्व होली आज हर्षोल्लासका साथ मनाइँदै छ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ। केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताए। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा(होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ। रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।

फागु पूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ। यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ।