
काठमाडौँ । महानगरपालिकाले १५० भन्दा बढी सम्पदा पुनर्निर्माण गरेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफू ०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भई आएपछि हालसम्म १५० भन्दा बढी सम्पदा पुनर्निर्माण भएको बताए ।
उनले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, गुठीघर, द्यःछेंलगायत १५० भन्दा बढी सम्पदा पुनर्निर्माण भएको जानकारी दिए ।
उनले उपत्यकाभित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदा पुनर्निर्माणमा पनि महानगरपालिकाले सहयोग गर्दै आएको बताए । प्रमुख शाक्यले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत उपत्यका बाहिरका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको विकास तथा संरक्षणमा समेत सहकार्य र साझेदारी गर्दै आएको बताए ।
उपत्यकाबाहिर लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकासलगायत काम भएको उनले उल्लेख गरे ।
प्रमुख शाक्यले महानगरपालिकाभित्रको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि हरेक वर्ष सय करोड रुपैयाँभन्दा बढी बजेट छुट्याउने गरिएको जानकारी दिए ।





प्रतिक्रिया