काठमाण्डौ– मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको मृत्यु भए पछि प्रहरीले छानबिन थालेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिए । उनका अनुसार छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।
शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन्।
तनाव बढेपछि लेटाङमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । दक्षिणमा लेटाङ नगरपालिका(३ र ४, लेटाङ(५ का सबै क्षेत्र, उत्तरमा लेटाङ(६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि विद्यालयमा यसबारे छलफल भइरहँदा झडप भएको हो।
छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो।





प्रतिक्रिया