गण्डकी – लेखनाथ महोत्सवमा रु छ करोड ४५ लाखको कारोबार भएको छ । गत फागुन २६ गतेदेखि सञ्चालित १७ औँ संस्करणको सो महोत्सवमा दुई लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सव सोमबार सम्पन्न भएको छ । सो अवसरमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । व्यापारिक मेलाले क्रेता र विक्रेताका बीच वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले गण्डकी क्षेत्रमा सङ्घले बर्सेनि आयोजना गर्ने मेला नेपालकै उत्कृष्ट महोत्सव बन्ने गरेको बताए ।
मन्त्री शर्माले एकता र सहकार्यबाट सफलता प्राप्तिमा बल पुग्ने बताउँदै प्रदेश सरकारले पोखरामा वैकल्पिक औद्योगिक क्षेत्रका रुपमा पूर्णीटारमा सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाएको उल्लेख गरे। पोखराको बीच भागमा रहेको औद्योगिक क्षेत्रलाई विस्थापन गरी पूर्णीटारमा सार्ने गरी काम भइरहेको उनको भनाइ छ ।





प्रतिक्रिया