देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अभिनेता शाहविरुद्ध तनहुँ अदालतमा दोस्रो मुद्दा दायर

देशान्तर

काठमाडौ‌ँ– पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मंगलबार जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्‍याइएको हो ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको पुष्टि गरे । अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ ।

यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

शाहविरुद्ध यसअघि पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ । पीडित भनिएकी नाबालिगले दुवै जिल्लामा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्धाको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ । त्यसपछि थुनछेकको बहस सकेर न्यायाधिशले पुर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।

तनहुँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रक्रिया अगाडि बढ्न सक्ने छ । पूर्वी नवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।