देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिजुलीको बजार कहाँ होला भनेर चिन्ता गर्नु पर्दैन : मन्त्री भुसाल

देशान्तर


काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको बजार कहाँ होला भनेर चिन्ता नगर्न लगानीकर्तालाई आग्रह गरेकी छन् । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गरेको बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा उनले विद्युत् निर्यातको बाटो सरकारले खोलिसकेको बताइन् ।

मन्त्री भुसालले बिजुली निर्यात बढाउनका लागि भारतसँग राजनीतिक र कुटनीतिक हिसाबले संवाद भइरहेको बताए । उनले निर्यात बढाउनका लागि वातावरण सकारात्मक बन्दै गएकाले ठूलो लाभ प्राप्त हुने दाबी गरिन । चीनले समेत माथिल्लो अरुण परियोजनामा आफैँ लगानी गरेर बिजुली लैजान चासो व्यक्त गरेको मन्त्री भुसालको भनाइ छ । मन्त्री भुसालले बगेको पानीलाई विद्युतको युनिटमा बदल्न सके मात्रै आर्थिक विकास हुने दाबी गरिन ।

उनले भनिन् , ‘बिजुली निर्यातका लागि बजारको ढोका पनि खोल्दैछौँ । थोरैबाट सुरु भएको छ । हजार माइल बराबर एक पाइला भने जस्तै एक पाइला अगाडि बढेका छौँ । बजारको समस्या छैन ।’

छलफल कार्यक्रममा स्वदेशी लगानीकर्ताले सरकारले परियोजनाको समय र लागत नबढाउने विषयमा प्रतिबद्धता गरे लगानी गर्न तयार रहेको बताएका छन् । माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायतका बहुपक्षीय दातृ निकायसमेत तयार रहेको विद्युत् प्राधिकरणले बताएको छ । आयोजनाको कुल लागत दुई खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ । आयोजना निर्माणका लागि नौ वर्ष लाग्ने प्राधिकरणले बताएको छ ।