देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्व क्षयरोग दिवस

देशान्तर

काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् ।

सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षयरोग मुक्त नेपाल बनाउने प्रतिबद्धता जनाएको थियो । सो अनुसार स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहमा चालु आर्थिक वर्षबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यान्वयनमा आएको थियो ।

आगामी आर्थिक वर्षमा अरु थप स्थानीय तहमा पनि यो अभियान लागु गर्ने र आगामी चार वर्षभित्र देशका सबै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याउने प्रधानमन्त्रीको भनाइ छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर ४० हजार बिरामी सम्पर्कबाहिर रहेको केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको पत्ता लागेको थियो । यो रोगबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणबाट पत्ता लागेको थियो ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ । क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँछ ।