काठमाडौँ – अवैध लागुऔषधसहित विभिन्न ठाउँबाट ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१५ बाट करिब ७ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय राजेन्द्र केसी रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७६५८ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक केसीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, धनुषाको धनौजी गाउँपालिका-५ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाइट्रोभेट ६० ट्याब्लेटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा क्षीरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोल बस्ने ३३ वर्षीय बिहारीबाबु महतो र सोही ठाउँ बस्ने २४ वर्षीय कृष्णकुमार महतो रहेका छन्। प्र.२-०२-००३ प.३०१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
त्यसैगरी, दाङको बबई गाउँपालिका-३ बस्ने २५ वर्षीय अनिल डाँगीसमेत ३ जनालाई करिब १ सय ९० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। डाँगीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित होटलमा कोठा भाडा लिई बसि लागुऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ भुजौलीस्थित सडकबाट करिब १२ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारत महाराजगंज थाना सुनौली ग्राम बर्गदही नौतनहवा बस्ने २० वर्षीय अनिल साहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। युपी ५३ बि बि ६१४० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहनीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ भावरपुलबाट करिब २ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही नगरपालिका(७ बस्ने २५ वर्षीय प्रेमबहादुर दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ४ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नियन्त्रित लागुऔषध नाइट्राभेट १३ ट्याब्लेटसहित धादिङ निलकण्ठ नगरपालिका-१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३-०२-००६ प २६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले जाँच गर्दा चालक गुरूङलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।





प्रतिक्रिया