विराटनगर – विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर बस्दै आएका २७ वर्षीय विजय यादव मृत भेटिएका हुन् ।उनी नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । उनी विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा डेरामा बस्दै आएका थिए ।
डेरा बसेको घरको कम्पाउण्डभित्र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा यादवको शव फेला परेको प्रहरीले बताएको छ । नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादवको शव देखेपछि स्थानीयले शनिबार बिहान प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका थिए ।
मृतकका आफन्तले हत्या भएको आशंका गरेका छन् ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बताए ।घटनास्थलमा रहेको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले बताए ।
पोष्टमार्टमपछि थप विषय खुल्ने उनले बताए ।





प्रतिक्रिया