काठमाडौंं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिएपछि नेपाल प्रहरीमा अब नयाँ प्रहरी महानिरीक्षक को बन्छ भन्ने चर्चा सुरु भएको छ ।
गृह मन्त्रालयले १ चैतमा तीनै जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेअनुसार मन्त्रिपरिषद्ले उनीहरूलाई गत सोमबार बढुवा गरेको थियो ।
उक्त सिफारिसविरुद्ध अन्य तीनजना डीआईजीले उजुरी गरेपछि बढुवामा ढिलाइ भएको थियो । उजुरी सुन्ने समितिले सिफारिसलाई सदर गरेसँगै मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । तीन जनाले दज्र्यानी चिह्न पाएसँगै नेपाल प्रहरीमा प्राविधिकतर्फ १ सहित एआईजीको संख्या ९ पुगेको छ । अब ८ जनामध्ये ४ जनाबीच भावी आईजीपीको रूपमा प्रतिस्पर्धा रहेको छ ।
एआईजीपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै पछि थपिएका सिंह र धानुकबीच पनि प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । पन्त भने वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउने भएकाले उनी यो रेसमा छैनन् । आईजी क्षेत्रीका ब्याची एआईजीहरू हरिबहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाहीले पनि १९ वैशाखदेखि अवकाश पाउने छन् ।
नेपाल प्रहरीको २९औं प्रहरी प्रमुख (आईजीपी) बनाउने जिम्मा सरकारको हो । प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका विश्वराज पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धीरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आएका थिए ।
पोखरेललाई २०७७ मंसिर १५ गते केपी ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । पछि ओली सरकारबाट हट्नुभन्दा एक महिना अघि थापालाई पनि एआईजी बनाइएको थियो । आईजीपी बन्नका लागि सहकुल थापाले पनि राजनीतिक लविङ गर्न लागि परेका छन् ।
२०७४ को निर्वाचन अघि सरकारको नेतृत्व गरेका बेला प्रधानमन्त्री देउवाले वरीयता मिच्दै जयबहादुर चन्दलाई आईजीपी बनाउँदा अदालतले उल्ट्याएको थियो । जसको कारण त्यतिबेला नेपाली कांग्रेसलाई चुनावमा पनि घाटा भएको बुझेका प्रधानमन्त्री देउवाले अहिले फेरि वरीयता मिचेर जोखिम मोल्ने अवस्था कम रहेको सुरक्षा मामिलाका जानकारहरू बताउँछन् ।
यस्तै, अर्को संगठन सशस्त्र प्रहरीमा पनि नयाँ नेतृत्व परिवर्तन हुँदैछ । अहिलेको आईजीपी शैलेन्द्र खनालको कार्यकाल सकिने भए पनि आईजीपीमा उनकै ब्याची एआईजीहरू पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना हुनेछन् ।
यी दुईमध्ये केसीको सम्भावना बढी रहेको जनाइएको छ । सशस्त्रको अब बन्ने आईजीपीको कार्यकाल २१ दिनको मात्रै हुनेछ । ३० वर्षे सेवा हदका कारण उनीहरूको कार्यकाल पनि वैशाख १९ मा सकिनेछ ।
वैशाख १९ पछि बन्ने सशस्त्र प्रहरीको आईजीपीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा देखिएको छ । तीनैजना आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । सशस्त्र प्रहरीमा अहिले दुई जना एआईजी छन् । एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना २१ दिने आईजीपी हुँदा एआईजीको एक दरबन्दी खाली हुनेछ । खाली रहेको दरबन्दीमा डीआईजीहरू अर्याल, पौडेल र गौतममध्ये जसले बाजी मार्छन्, उनी नै सशस्त्रको आईजीपी बन्नेछन् । वरीयतामा अर्याल अगाडि छन् ।





प्रतिक्रिया