देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

देशान्तर

काठमाण्डौ – भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष आजका दिन बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ ।

यसपालि थिमि बोडेका ४९ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्दै छन् । श्रेष्ठले यसभन्दा अघि ८ पटक जिब्रो छेडाउनु भएको थियो । बोडेमा वैशाख १ गतेको बेलुकीदेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ ।

चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुञ्जेलसम्म निराधार बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने लगायतको नियम पालना गर्नुपर्दछ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र विघ्नबाधा आउने जनविश्वास छ ।

मध्यपुर थिमि वडा नं २ मा रहेको गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछ । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।