काठमाडौँ । वाग्मती प्रदेशले वैशाख १ देखि लागू हुने गरी भाडा समायोजन गरे पनि सोमबारदेखि मात्र ट्याक्सीको मिटरमा भाडा समायोजन हुने भएको छ । नयाँ भाडा दर लागू भएको ४ दिनपछि मात्र ट्याक्सीको मिटरमा भाडा समायोजन गर्न लागिएको हो ।
सोमबारदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गर्ने गरी तयारी भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका प्रमुख राकेशकुमार झाले बताए । जस्तै एक किमिको हकमा मिटरमा साविकको भाडा ५३ रुपैयाँ देखाउँछ । तर यात्रुले नयाँ भाडा दरअनुसार एक सय रुपैयाँ तिर्नुपर्नेछ । उक्त चार्टमा बिहान ६ देखि बेलुका ९ बजेसम्म र बेलुका ९ देखि बिहान ६ बजेसम्म कति किमि यात्रा गर्दा मिटरमा साविकको भाडा दरअनुसार कति देखाउँछ र नयाँ भाडा दरअनुसार यात्रुले कति तिर्नुपर्ने हो, दुवै उल्लेख गरिएको हुन्छ ।
वाग्मती प्रदेश सरकारले चैत २४ मा वैशाख १ देखि लागू हुने गरी पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको हकमा सुरुवाती कल (फ्ल्याग डाउन) ५० रुपैयाँ, प्रति २ सय मिटरमा १० रुपैयाँ, प्रतीक्षा शुल्क (वेटिङ चार्ज) को विषयमा प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतीक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरेको छ । यस्तै बेलुका ९ देखि बिहान ४ बजेसम्म सञ्चालन हुने रात्रिकालीन समयका लागि सुरु फ्ल्याग डाउनलाई यथावत् राखी प्रति २ सय मिटरमा १५ रुपैयाँ कायम गरेको छ ।
उपत्यकामा ९ वटा फर्ममार्फत ट्याक्सीमा मिटर राखिने भएकाले त्यसमध्ये ७ फर्मले सोमबारदेखि नै नयाँ भाडा दर समायोजन गर्ने तयारी भइसकेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए ।
प्रदेशको मन्त्रीस्तरीय बैठकले गत पुस २० मा पनि माघ ११ देखि लागू हुने गरी ट्याक्सीको भाडा समायोजन गर्ने निर्णय गरेको थियो । उक्त समयमा प्रदेशले सुरुवाती कल (फ्ल्याग डाउन) ६० रुपैयाँ, सुरुको १ किमि यात्रापछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसाका दरले भाडा दर समायोजन गरेको थियो । तर भाडा दर समायोजन गरे पनि वेटिङ चार्ज र रात्रिकालीन समयको भाडा दर स्पष्ट नहुँदा मिटर अद्यावधिक गरेको थिएन ।





प्रतिक्रिया