देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा

देशान्तर

काठमाडौं – नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो ।

पछिल्लो केही महिनायता प्रतिकूल मौसमले विमानस्थल प्रभावित हुँदा उडानरअवतरण प्रभावित भएको छ । जसले उडानहरु रातको समयमा बढी धकेलिने गरेका छन् ।

कतिपय अवस्थामा वायुसेवा कम्पनीहरुले राती अबेर उडानहरु रद्द गर्दा काठमाडौं तथा अन्य विमानस्थलहरुमा यात्रु अलपत्र समेत पर्ने गरेका छन् । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक सञ्चालनमा आइसकेको छ । यहाँ आन्तरिक उडान शुरु भएका छन् ।

त्रिभुवन विमानस्थलमा कुनै कारणले उडान/अवतरण प्रभावित बनेको अवस्थामा विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल तयार भएसँगै दुवै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा चल्ने भएका हुन् ।

प्राधिकरणका अनुसार रात्रिकालीन उडान हुने विमानस्थल भने अब १८ घण्टा चल्नेछन् । बिहान ६ बजे खुल्ने विमानस्थलहरु राति १२ बजे बन्द हुनेछन् । यसले रातको अन्तिम समयमा हुने उडान रद्दको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अहिले तराई भेगका राजविराज बाहेक सबै विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ ।