देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थरीथरीका चिह्न स्वतन्त्र उम्मेदवारलाई

देशान्तर

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ, जसमा दलहरूले उनीहरूकै चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले आफ्नो नमुनामा रहेका चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेसले रुख, एमालेले सूर्य, माओवादी केन्द्रले गोलाकारभित्रको हसियाँ हथौडा, जसपाले छाता, राप्रपाले हलो चुनाव चिह्न पाएका छन् । दलहरूले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग राखेपछि आयोगले यसअघि नै दलहरूले तय गरेको चिह्न नै दिने निर्णय गरेको थियो ।

आयोगले शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न दिएको हो । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । पौडेलले शनिबार नै आफ्नो प्रचार सामग्रीमा भुइँकटहरको तस्बिर समावेश गरिसकेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो पाएका छन् । पोखराका स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई पनि चुनाव चिह्न लौरो परेको छ ।

धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार उमेश यादव र उपमेयर उम्मेदवार नमिता न्यौपानेले एउटै चुनाव चिह्न पाएका छन् ।जनता समाजवादी पार्टी छाडेका यादवले मेयरमा र माओवादी केन्द्र छाडेर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी न्यौपानेले एउटै चुनाव चिह्न लालटिन पाएका हुन् ।