काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्ने र त्यसमा आफू प्रतिवद्ध रहेको बताएका छन् ।
कानुन दिवसका अवसरमा वक्तव्य जारी गर्दै उनले न्यायपालिकाको विकृति नियन्त्रणका लागि गठन भएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् ।
‘न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिका सम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको छ’ कामु प्रधानन्यायाधीश कार्कीले वक्तव्यमा भनेका छन् ।
उनले न्यायपालिकामा हुनसक्ने विकृति विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औल्याएका सुझावहरू कार्यान्वयन भइरहेको र क्रमशः हुँदै जाने प्रतिवद्धता जनाएका छन् ।
सर्वोच्च अदालतले अल्पकालीन रुपमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको काम गरिरहेको भन्दै उनले दीर्घकालीन रुपमा स्वचालित पेसी व्यवस्थापन प्रणाली अपनाउने तयारी भएको बताएका हुन् ।
कोरोनाका कारण सेवा प्रवाह संकुचन भएको भन्दै उनले पुराना मुद्दा टुंग्याउन सर्वोच्च अदालत प्रशासन प्रतिवद्ध रहेको जनाएका छन् ।
प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ ।
ऐनमार्फत प्रधानन्यायालय स्थापना भएकाले आजको दिनलाई स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरण सम्बन्धी मान्यताको व्यवहारिक कार्यान्वयन भएको दिनको रुपमा स्मरण गर्ने चलन छ ।





प्रतिक्रिया