देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झलनाथको राष्ट्रपति सपना

देशान्तर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल वामपन्थी दललाई मिलाएर राष्ट्रपति बन्ने सपना देख्न थालेका छन् । लामो समय सक्रिय रहेको पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले अपमान गरेको भन्दै पार्टीबाटै अलगिएका खनालअहिले फेरि सबै वामपन्थी पार्टीहरूबीच एकता गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

कांग्रेससहितका सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूको बलमा केही स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेर एमालेबाट अलग भएर गठन भएको पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । तर, त्यससँगै जागेको राष्ट्रपतिको भोक अहिलेको गठबन्धनबाट पूरा नहुने देखेका खनाल फेरि वामपन्थी पार्टीहरूको एकताको पक्षमा उभिएका हुन् ।

ओली एमालेका केही नेताहरूले खनाललाई राष्ट्रपति बनाउने सपना देखाउन थालेपछि खनालमा राष्ट्रपति बन्ने लोभ देखा परेको छ । स्थानीय तहको निर्वाचनपछि गठबन्धनकै विपक्षमा देखिएका खनाल अहिले फेरि वाम एकताको पक्षमा अभिव्यक्ति दिइरहेका छन् । त्यसका लागि वाम पार्टीका शीर्ष नेताहरू तयार नभएको भन्दै आलोचना गर्न थालेका छन् । केहीदिनअघि वाम एकताको आवश्यकता औंल्याउँदै वामपन्थी आन्दोलनका मूल नेता भन्नेनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारेका थिए । मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो,उनको भनाइ छ ।

तर वामपन्थी आन्दोलनमा आफूलाई मूल भन्ने नेताहरूनै एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नहुने उनले बताए । खनालको यो भनाइले आफ्नै पार्टी अध्यक्ष माधवकुमार नेपालका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत एमालेसँग तत्काल सहकार्य गर्नका लागि तयार नदेखिएको संकेत गर्दछ । खनाल आफैं पनि एमाले अध्यक्ष ओलीसँग मिल्ने पक्षमा छैनन् । तर, एमालेसहितका दलहरू मिलेर जान नसके राष्ट्रपति बन्ने आफ्नो सम्भावना नहुने र अहिलेको गठबन्धनको समीकरणले उक्त पद कांग्रेसले पाउने उनको बुझाइ छ । फेरि प्रधानमन्त्री वा अन्य कुनै पदमा पुग्ने सम्भावना देखेका खनालराष्ट्रपति बन्न सकिन्छ कि भन्ने लोभमा परेको देखिन्छ ।