देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार प्रदेशमा लगातारजसो वर्षा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

देशान्तर

काठमाण्डाै । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश-१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ ।

लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ ।

आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ । तर, लगातार पानी परिरहेकाले हल्का तथा मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

चार प्रदेशमा वर्षाले बाढी पहिरोको जोखिम बढाएका बेला तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो छ । आज पनि यी तीन प्रदेशमा घाम चर्किने अनुमान गरिएको छ  । गर्मीले त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

पछिल्लो २४ घण्टामा नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने दिपायलको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव ५ डिग्री सेल्सियस, दाङ घोराहीको ३५ डिग्री सेल्सियस र डडेलधुराको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ।